Wednesday, 24 August 2011

कविता


रोष,अभिब्यक्ती !!! 
                                                             नवीन लामा `सुरेश` 

यस्तो लाग्छ 
उँधो बग्ने खोलाहरु उँभो बग्दैछ, 
जूनकिरीको शहरमा पनि 
अन्धकारले घेरा हालिसकेछ, 
अँधेरोमा लम्किएको आफ्नै पाइलाहरु पनि 
उजेलीको साथ नपाउँदै 
थाकेको महसुस हुन्छ,
किन किन यस्तो लाग्दैछ अचेल 
समय आफुलाई ठग्दैछ !!



निष्ठा अनि कर्तब्यमा लागी पर्ने 
उस्का श्रमजिबी हातहरु 
कसैको न्यायिक चपेटामा 
छट्पटाइरहेको स्थिती छ
गतीशिलताको अवरोध सँगै 
खुम्चिएर बस्नु पर्ने अलग्गै बाध्यतामा 
बर्बर छन् आस्थाहरु!!

उत्तेजित एक हुल हुटिट्याऊहरु 
साँझको शङ्खघोष गर्छन् 
निशाचर रातको ब्यग्र पर्खाइमा रहेको 
काले मुसुण्डा खुशीले गद गद हुँदै 
आफ्नो अस्तित्वको धमिलो नहरमा 
डुबुल्की मार्दै मध्य रातको 
शैतानी गीत गाउन थाल्छ
तब यस्तो लाग्छ जूनकिरीहरु 
बिरहको भाका गाउँदैछन् ।

नाताबाद अनि तन्त्रबादको 
कठघरामा उभिएको छ मेरो देश 
न्याय कस्ले दिने ?
एकातिर बाहुनबादीहरु कराउँछन्  
अर्कोतिर तिनेरुका बिरोधीहरु
कस्लाई बिश्वास गर्ने कस्लाई नगर्ने ?
न्यायधिस को बन्ने 
अनी वकालत कस्ले गर्ने देशको पक्षमा ?
यस्तो लाग्छ 
हाम्रै ईतिहासको कालखण्ड 
बर्बरताको सामु घुँडा टेक्दैछ ।

नजानी नजानी होस् या जानेर 
पल्ला गाउँको धामी बा
अचेल हेल्थपोस्ट असिस्टेन्ट भा`का छन् रे!!! 
बिरक्तै लाग्दो होला उनलाई पनि 
ढ्याङ्ग्रोलाई गजाले पिट्दै उफ्रने बानी हगी! 
बेला, बखत, काल, खण्ड, 
समय फेरिएछ
सँगै फेरिएछन् मानव प्रकृतीहरु!! 

जाग्नेछु  अब मसान बनी 
सेरोफेरोमा राँकेभूतहरु लिएर 
मसान दृष्टीले हेर्नेछु 
अन्धकार हटाउन राँकेभूतहरु खटाउनेछु 
छरपष्ट भएको अस्तित्व समेट्न 
बार्दलीमा छाएको ग्रहण हटाउन 
सेतो शिरिष फूलको सहारामा
मसानी मन्त्रको प्रयोग गर्दै 
सुनौलो बिहानीको 
शङ्खघोष म गर्नेछु !!!

पृथ्वीनगर १ झापा नेपाल 

No comments:

Post a Comment