दमनको पराकाष्टामा नीरिह कलम!!
लेख्दैछस् ?
लेखीबस्!!
अरु के नै गर्न सक्छस् र ?
तेरो स्याही नसकुञ्जेल लेख
हुनेवाला केहि होईन आखिर ।
हिम्मत राखेर लेख
तेरो बिरोधमा धेरै हातहरु उठ्दैछन्
मायाँ प्रेमका कुरा लेख्ने पनि तँ
स्वतन्त्रताको बखान गर्ने पनि तँ
एकात्मकताको बिगुल फुक्ने पनि तँ
राजतन्त्रको बिरोधमा तैँले नै बोलिस्
बिरोधीको बिरोधमा पनि तँ नै बोल्छस्
तेरो बिरोधमा पनि तँ जस्तै कलम नै बोल्दैछन्
कविको हतियार अनि
समिक्षकको मतियार पनि तँ नै होस्
एकापट्टी सुमधुर बन्छस्
अर्कोपट्टी कपटी क्रुर
चेतनाको कृष्णवर्ण बमन गर्ने पनि तँ नै होस्
खै त चेतना ?
शान्ति,अमन-चयनको घोषणा पनि तेरो सहारामा भएको हो ।
तेरै आधारमा धेरै तन्त्रहरुको बिधान लेखियो
नाथे ! गणतन्त्रको बिधान "संबिधान" लेख्न नसक्ने
तेरो के इज्जत छ र ?
सहमतीको बुँदा लेख्ने तँ नै होस्
त्यही बुँदा माथि बिरोध जनाउने पनि तँ नै होस्
समबेदनाको शब्द लेख्ने तेरो स्याहीहरु
वाह,वाहीको भोकमरीमा छटपटाइरहेको छ
काला पथ्थरमा सिमाङ्कन गर्दा
सुगौली सन्धिमा हस्ताक्षर गर्ने स्याही तेरै हुन्
निर्जिब भएर पनि सजिब बन्ने चेष्टा सँधै गर्छस्
तेरो हर प्रयास असफल भएको देख्दैछु म ।
समानताको कुरा तैँले नै लेखेको होस्
तर खै त समानता ?
बाहुनबादको बिरोधमा बोल्ने तँ नै होईनस् ?
अनि बाहुनबादको पक्षमा पनि तँ नै बोल्दैछस्
दोचारे भइस् तँ!
तेरो यही दोचारेपनले गर्दा नै तँ आज
न्यायको कठघरामा उभिएको छस्
तर तेरो पक्षमा वकालत गर्ने
अर्को युगान्तकारी कलमको जन्म भइसकेको छैन ।
"पृथ्वीनगर १ झापा नेपाल "
No comments:
Post a Comment