Wednesday, 24 August 2011

कविता


स्थायित्वका अबोध गोरेटाहरु

                                                               नवीन लामा `सुरेश`

चिहाएर क्षितिजमा 
देखिन्छ कि नौलो बिहानी भनेर
हेर्दैछु म !

धमिलो यौटा तारा चम्किने प्रयत्न गर्दै
उदाएको छ त्यो निलो आकाशमा,
तेतिकैमा यौटा झलमल्ल लामपुछ्रे
उस्को त्यो प्रयत्नको बिरोधी भएको
आभास गर्दैछु !



बिरोध अनि बिरोधाभाष भित्र 
चिप्लेटी खेल्दैछ सांसारिक मोह 
असफल प्रयाश नगर्नु थियो 
सफल पनि हुन नसकेको 
आभास गर्दैछु !

उत्तर पट्टिको सेताम्य हिमाल 
झुल्के किरणको स्पर्शमा 
सुनौलो बनी टल्किएको अवस्थामा 
लगातारको प्रफुल्लता छिन भर मै 
छताछुल्ल बर्खे बादल झैँ
झर्झर धर्तीमा पोखिएर 
नयाँ आयाम दिने काम भैरहेको 
आभास गर्दैछु !


मरुभुमिय मोती मसिना रेतहरु 
शिशिरको आगमनमा दु:ख ब्यक्त गर्दै 
बसन्तको प्रतिक्षा
निरन्तर रहन्छ, 
शिशिर अनि रेतको सम्बन्ध 
कुनै युद्धको दोहोरो योद्धा जस्तै,
जब शिशिरमा बर्षात हुन्छ 
युद्धमा थाकेको योद्धा झै 
गल्यात गुलुत बन्न पुग्छ मरुभुमी 
त्यसले त उ आफ्नो पौरुषत्व देखाउन असक्षम हुन्छ 
तब 
एउटा भयंकर गर्जन सहितको हावाको झोक्का पनि
असमर्थ बन्छ ति रेतहरु आफ्नो बाहुमा समेट्न 
हार मरुभुमिको अनि जीत शिशिरको भएको
आभास गर्दैछु !

उज्यालो खोज्दै झुलोचकमक को सहारामा
अघी बढ्ने तिम्रा पाईलाहरु 
नरोकिउन कहिँ पनि, 
नठोकिउन अर्धचेत ठेस सँग 
तिमीले दुनियाँ जित्नु छ 
त्यहाँ लामपुछ्रेको अतिक्रमण किन नहोस्!
प्रयाश असफल नै होस् 
निरन्तर प्रयाश गर ।

जसरी झुल्के किरण सँग रमाएको 
त्यो हिमाल दिउँसोको चर्को घामको चपेटामा
आफुलाई निसास्सिएको पाउँछ,
ठिक त्यसैगरी अर्को बिहानी अवश्य हुन्छ 
झुल्के किरण फेरि उदाउनेछन्
प्रतिक्षा गर, 
मरुभुमी सँग शिशिरको जीत भए झैँ,
अवश्य तिम्रो जीत हुनेछ
अनि
स्थायित्व त्यो नै हुनेछ !!!

पृथ्वीनगर १ झापा नेपाल 

No comments:

Post a Comment